२०८२ चैत्र ५ बिहीबार
Jhapa Today
Adv top

भोजपुरमा चैत अन्तिम साता ‘मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२’ हुने


बिर्तामोड, चैत ५ । भोजपुरका तीन स्थानीय तहको आयोजनामा ‘मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२’ आयोजना हुने भएको छ । यसअघि मंसिर २०, २१ र २२ गते हुने भनिएको प्रतियोगिता यही चैत २१ र २२ गते हुने भएको हो ।

भोजपुरका दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त रुपमा पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगिताका लागि तीनवटा पालिकाले पाँचपाँच लाख रुपैयाँ छुट्याएका छन् ।

ग्रेट मुन्दुम ट्रेलभित्र पर्ने भोजपुरको सबैभन्दा होचो स्थान (१५३ मिटर) हसनपुर कोप्चेबाट पाँचधारे तावाभञ्ज्याङसम्म रेस हुने मुन्दुम ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए ।

रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ–कपासे–सेल्मे–पाँचधारे–तावाभञ्याङसम्म सञ्चालन हुनेछ ।

प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२ मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवद्र्धन गर्ने, मौलिक संस्कृति, स्थानीय परिकार र यहाँ पहिचानलाई देश–विदेशमा चिनाउने उद्देश्यले आयोजना हुन लागेको हो ।

प्रतियोगिता विभिन्न तीन विधामा सञ्चालन हुनेछ । ६० किलोमिटर दूरीको विधामा भाग लिन योग्यता निर्धारण गरिएको छ । यो विधामा प्रथम हुनेले नगद ८० हजार, दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ र मेडल पाउनेछन् ।

त्यस्तै, ४५ किलोमिटर दूरीको विधामा सहभागिताका लागि सबै प्रतियोगीलाई खुला गरिएको छ । यो विधामा प्रथम हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ र मेडल पाउनेछन् ।

त्यस्तै, ४० वर्षभन्दा माथिका भेट्रान्स विधाका प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार र मेडल प्रदान गरिनेछ । तीनवटै विधाका महिला र पुरुष विजेतालाई समान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहने जनाइएको छ । प्रतियोगितमा १०० जना धावक सहभागी गराउने लक्ष्य रहेको रिमाचुङ एजुकेसन एन्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए ।

प्रतियोगितालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न तीनै गाउँपालिकाबीच विस्तृत कार्ययोजना तयार गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनले सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताए ।

मुन्दुम पदमार्ग क्षेत्रमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धन तथा विकासका लक्ष्यले तीन गाउँपालिकाहरुले बजेट विनियोजन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित मुन्दुम अल्ट्रा ट्रेल रेस आयोजना गरिएको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

यसअघि पनि एकाडेमीको आयोजनामा ५२ किलोमिटरको मुन्दुम ट्रेल रेस २०१७ र २०१८, ३६ किलोमिटर दूरीको भोजपुर ट्रेल रेस २०१९, विश्व अल्ट्राधावक मिरा राईको सम्मानमा आयोजित भोजपुर ट्रेल रेस २०१७ र २०१८ अल्ट्रा ट्रेल रेस सम्पन्न भइसकेको छ ।

Adv footer