२०८२ चैत्र ५ बिहीबार
Jhapa Today
Adv top

आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा चैत ३० मा हुने


बिर्तामोड,चैत आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद चिकित्सा स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ। परिषद्को निर्णयअनुसार आगामी चैत ३० गते सोमबार परीक्षा सञ्चालन हुनेछ।

परीक्षाका लागि परिषद्ले आजैका मितिदेखि अनलाइन आवेदन प्रणाली खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले चैत १९ गतेसम्म नियमित शुल्कमा फारम भर्न सक्नेछन्। त्यसपछि चैत २० देखि २८ गतेसम्म भने दोब्बर दस्तुर (विलम्ब शुल्क) तिरेर आवेदन दिन सकिने परिषद्ले जनाएको छ।

परीक्षामा सहभागी हुनका लागि परिषद्ले शैक्षिक योग्यताका अतिरिक्त स्वदेशमा अध्ययन गरेकाको हकमा ६ महिनाको इन्टर्नसिप अनिवार्य र विदेशमा अध्ययन गरेकाको हकमा १ वर्षको इन्टर्नसिप पूरा भएको हुनुपर्ने प्रावधान तोकेको छ ।

दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन अनलाइन फारमको व्यवस्था गरिएको हो। योग्यता पुगेका चिकित्सकहरूलाई तोकिएको समयभित्रै आवेदन प्रक्रिया पूरा गरी परीक्षामा सामेल हुन परिषद्ले आग्रह गरेको छ।

Adv footer