
बिर्तामोड, चैत ६ । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरी चोकमा गुडिरहेको गाडीभित्रै बेहोस भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
बिहीबार साँझ साढे ६ बजेतिर पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.१–०४–००१च ००८० नम्बरको स्कारपियो चलाउने क्रममा मोरङको शनिश्चरे–९ निवासी ४५ वर्षीय योगेश धिमाल अचानक अस्वस्थ भएका थिए। गाडीभित्रै असहज महसुस भएपछि उनले सडक किनारमा गाडी रोकेका थिए।
गाडी रोकेलगत्तै धिमाल बेहोस भएको अवस्थामा यात्रीहरूले फेला पारेका थिए। उनलाई बोलाउँदा नबोलेपछि स्थानीयको सहयोगमा तत्काल उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा राति ८ बजे धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट अधिकृतको टोली खटी गई कानुनी प्रक्रिया पुरा गरेको थियो। मृतकको शवलाई पोस्टमार्टमका लागि राति १० बजे मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारी पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





