
बिर्तामोड, चैत ८ । झापाको दमकमा बर्ड फ्लु पुष्टि भएको छ । नगरपालिकाले अत्यन्त जरुरी सूचना निकालेर संक्रमण फैलिन सक्ने जोखिमप्रति सबै सरोकारवालालाई सचेत गराएको छ ।
दमक १० मा सञ्चालनमा रहेको एक लेयर्स कुखुरा फार्मका कुखुराहरू मरेपछि परीक्षण गरिएको थियो । परीक्षणमा बर्ड फ्लु रोग पुष्टि भएको नगरपालिकाले जनाएको छ । यो जुनोटिक प्रकृतिको रोग भएकाले पशुबाट मानवमा समेत सर्न सक्ने जोखिम रहेको जनाइएको छ ।
संक्रमणको फैलावट रोक्न नगर विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य पदार्थ—अण्डा, मासु र चल्लाको ओसारपसार अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ ।
त्यस्तै, कुखुरा अस्वाभाविक रूपमा बिरामी परे वा अचानक मरेमा तत्काल पशुपन्छी विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ । कुखुरापालक कृषकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र प्रवेश तथा निस्कने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न पनि निर्देशन दिइएको छ ।
नगरपालिकाले सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र संक्रमित कुखुराको सुरक्षित व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
स्थानीय बजार तथा कुखुरा पसलहरूले सम्बन्धित निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ भने संक्रमण नियन्त्रणमा सबै नगरबासीको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।




