२०८२ चैत्र १२ बिहीबार
Jhapa Today
Adv top

झापा गाउँपालिकामा १० बेडको आधारभूत अस्पताल सञ्चालनमा


बिर्तामोड, चैत १२ । झापाको झापा गाउँपालिकामा १० बेड क्षमताको आधारभूत अस्पताल टाघनडुब्बा सञ्चालनमा आएको छ । यसअघि भदौमा उद्घाटन गर्ने कार्यक्रम रहे पनि जेन्जीका नामम आगजनी भएपछि केही समय धकेलिएको थियो ।

एक कार्यक्रमका बीच गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले अस्पतालको उद्घाटन गरिन् । अस्पताल झापा-३ फूलगाछीमा रहेको छ ।

अस्पताल निर्माणका लागि संघीय सरकारले चार करोड ८९ लाख तथा झापा गाउँपालिकाको दुई करोड ४४ लाख ६२ हजार ७७७ रुपैयाँ गरी कुल सात करोड ३३ लाख ६२ हजार ७७७ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले जानकारी दिए ।

अस्पतालबाट स्थानीयले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने र आगामी दिनमा यस अस्पतालमा थप विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य रहेको कावा अध्यक्ष थपलियाले जानकारी दिइन् ।

अस्पतालमा एमबिबिएस डाक्टरवाट ओपिडी सेवा, ल्याब सेवा, एक्सरे, गर्भवती महिलाको लागि भिडियो एक्सरे, औषधि वितरण, प्रसूति विभाग र २४ घण्टा बर्थिङ सेवा उपलव्ध रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख प्रेमकुमार न्यौपानेले जानकारी दिए ।

वडा नम्बर ३ का अध्यक्ष सुवासलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गरेका थिए ।

स्थानीय स्वर्गीय तारानिधि तिवारी र उनकी पत्नी विशेश्वरी तिवारीले एक बिघा एक कठ्ठा १५ धुर जग्गा अस्पतालका लागि दान दिएका थिए । जग्गादाता तिवारीको अर्धकदको शालिक अस्पतालको परिसरमा स्थापना गरिएको छ ।

कार्यक्रममा जग्गादाता परिवारलाई झापा गाउँपालिकाले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको छ । त्यस्तै, आधारभूत अस्पताल बनाउनको लागि जग्गा व्यवस्थापन गर्ने समितिका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

Adv footer