बिर्तामोड, चैत १३ । झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८ औँ संस्करणको कोसी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

हिले भलिबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनलमा कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
त्यस्तै, भोजपुरको रामप्रसाद राई गाउँपालिकाले धनकुटाको पाख्रिबास नगरपालिकालाई हराउँदै अपाधिनजिक स्थान बनाएको छ । उपाधिका लागि कनकाई र रामप्रसाद राई खेल्नेछन् ।

पहिलो सेमिफाइनलमा रामप्रसादले पाख्रिबासलाई २५–१६, १५–२५, २२–२५, २७–२५, १५–११ को सेटले पराजित गरेको हो ।
त्यस्तै, कनकाईले षडानन्दलाई १७–२५, २५–२३, २५–१८ र २५–१९ को सेटमा पराजित गरेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिए ।
फाइनल खेल आज शुक्रबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा कोसी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको छ । हिलेमा रामनवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।




