
बिर्तामोड, चैत २८ । अर्जुनधारामा जारी इन्डो–नेपाल यु–१३ टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा आज पनि दुई महत्वपूर्ण खेल हुँदैछन् ।
आजको पहिलो खेलमा हिमावि क्रिकेट एकाडेमी दमक र मिलन क्रिकेट क्लब काँकरभिट्टाबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ । दिउँसो १ बजे दोस्रो खेलमा हिजो विजयी भएका दुई टोली बोस्टन क्रिकेट एकाडेमी र सरस्वती क्रिकेट एकाडेमी आमनेसामने हुनेछन् ।

समूह ‘ए’ अन्तर्गत हिजो सम्पन्न खेलहरूमा बोस्टन क्रिकेट एकाडेमीले काँकरभिट्टाको मिलन क्रिकेट एकाडेमीमाथि १४३ रनको फराकिलो जित निकाल्दै शानदार सुरुवात गरेको थियो ।

धुलाबारीको सरस्वती क्रिकेट एकाडेमीले दमकको आस्था क्रिकेट एकाडेमीलाई ८७ रनले पराजित गर्दै अंक तालिकामा मजबुत उपस्थिति जनाएको थियो ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा तथा बोस्टन क्रिकेट एकाडेमीको सहआयोजनामा अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक नवनीत एकाडेमी (बोस्टन स्कुल) हो ।
प्रतियोगितामा नेपालका ८ तथा भारतका कोलकाता र पटनाबाट आएका २ टोली सहभागी छन् । टिमहरु दुई समूहमा विभाजित छन् । समूहको लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।उत्कृष्ट खेलाडीले १० हजार रुपयाँ पाउनेछन् ।




