
बिर्तामोड, चैत २९ । तीन वर्षअघि सम्पन्न गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तत्कालीन प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टिमका खेलाडी एउटै गाउँका रहेका थिए ।
अहिले सोही गाउँका ९ जना खेलाडी हक्कीको राष्ट्रिय टिममा छनोट भएका छन् । हक्कीको पुरुष राष्ट्रिय टिममा सातजना छनोट भएका छन् भने दुईजना महिला राष्ट्रिय टिमका सदस्य बनेका छन् ।

नवौँ राष्ट्रिय खेलकुदमा पनि झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ का १४ जना खेलाडी रहेका थिए । अहिले भद्रपुर-९ कै खेलाडीले राष्ट्रको प्रतिनिधित्व गर्दै खेल्ने भएका छन् । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी सुदिप चौधरी, रोमन राजवंशी र बिसु सुवेदी र अन्य चारजना पुरुष खेलाडी राष्ट्रिय टिममा परेका हुन् ।

उज्ज्वल राजवंशी, सौरभ दंगाल, रोहित राजवंशी र अनिम सापकोटाले पनि राष्ट्रिय हक्की टिममा स्थान बनाएको झापाका हक्की प्रशिक्षक दिपक खतिवडाले जानकारी दिए । त्यस्तै, महिला टिममा भद्रपुर-९ की सविना राजवंशी र मेचीनगर १४ की अञ्जली कर्मकार पनि महिला राष्ट्रिय टिममा छनोट भएका छन् ।
तत्कालीन हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का बस्ने ठाउँ भद्रपुर ९ भएकाले खेलाडीहरु पनि सोही वडाका मात्र भएका हुन् । मेचीनगर-१४ र भद्रपुर-९ छिमेकी वडा हुन् । यी दुवै वडाको चोक रहेको पुँहातुबारीमा प्रशिक्षक खड्का बस्दै आएका थिए ।
झापामा बाहेक कोशी प्रदेशका अन्य जिल्लामा प्रशिक्षक नै नभएपछि सबै खेलाडी झापाका मात्र भएका हुन् । झापाका हक्की प्रशिक्षक खड्का निवृत्त भइसकेका छन् ।




