
बिर्तामोड, बैशाख ८ । सरकारले हप्तामा दुई दिन विदा दिएर इन्धनको खपत घटाउने लक्ष्य लिए पनि डिजेलको खपत यो महिनामा झनै बढेको छ । मूल्यवृद्धिसँगै इन्धनको खपत घटाउन विदा दिए पनि यसको असर भने खासै देखिएको छैन ।
भन्सार विभागको तथ्याङ्कले सरकारी नीतिको प्रभाव खासै नदेखाएको हो । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैतसम्म डिजेलको कुल आयात परिमाण १० लाख ३५ हजार ३३ किलोलिटर पुगेको छ । यस्तो आयात फागुन महिनासम्म ८ लाख ९६ हजार ४४८ किलोलिटर थियो ।

यो हिसाबले हेर्दा चैत महिनामा मात्रै १ लाख ३८ हजार ५८५ किलोलिटर खपत भएको देखिन्छ । जबकि फागुन महिनासम्मको डिजेलको औसत मासिक खपत १ लाख १२ हजार ५६ रहेको थियो । चैत महिनामा यो दर घट्नुको सट्टा अझै बढेको देखिन्छ ।

यो अवधिमा डिजेलमा हुने खर्च दोब्बरभन्दा माथि पुगेको छ । फागुनसम्म कुल डिजेल खपतमा हुने खर्च १० अर्ब २१ करोड रुपैयाँ खर्च हुने गरेकोमा अहिले यो बढेर २१ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
पेट्रोलको माग भने सामान्य घटेको छ । फागुनसम्मको पेट्रोल खपतको औसत वृद्धिदर करिब ६३ हजार ९८८ किलोलिटर रहने गरेकोमा चैतमा यो ५६ हजार ४५९ किलोलिटरमा सीमित भएको छ ।
यद्यपि मूल्य वृद्धिका कारण यसअघि मासिक औसत ५ अर्ब ४८ करोड खर्च हुँदै आएको पेट्रोलमा चैतमा मात्रै ६ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।
पेट्रोलको खपत सामान्य देखिए पनि यसमा सरकारी विदाभन्दा बढी मूल्य प्रभाव रहेको देखिन्छ । पेट्रोल व्यक्तिगत प्रयोजनको लागि खर्च हुने भएकोले मूल्य बढ्ने बित्तिकै माग घट्छ । तर, डिजेल भने व्यावसायिक प्रयोजनमा खपत हुने भएकोले माग सामान्यतया घट्दैन ।






