
बिर्तामोड, बैशाख १३ । बजारमा पाइने नक्कली अर्गानिक मलका नाममा किसानमाथि ठगी भइरहेको पाइएको छ । त्यस्तै, गुणस्तरहीन बीउ पनि बजारमा बिक्री भइरहेको फेला परेको छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले गरेको २ हजार २७४ वटा माटोको नमुना विश्लेषणको नतिजाले कोशी प्रदेशको माटोमा गम्भीर समस्या देखाएको हो । परीक्षण गरिएका नमुनामध्ये ५१ प्रतिशत माटो अत्यधिक अम्लीय पाइएको छ । यो तथ्याङ्कले प्रदेशको आधाभन्दा बढी उब्जाउ भूमिले आफ्नो प्राकृतिक उर्वराशक्ति गुमाउँदै गएको संकेत गर्छ ।

माटो तथा मल परीक्षण प्रयोगशालाका अनुसार १३ वटा रासायनिक मलका नमुना परीक्षण गर्दा शतप्रतिशत नै मापदण्डअनुसार सही पाइएका थिए, तर जब ५८ वटा प्राङ्गारिक मलका नमुना परीक्षण गरियो, त्यसमध्ये ९५ प्रतिशत (५५ वटा) नमुना मापदण्डविपरीत पाइएका छन् ।

प्रयोगशालाका प्राविधिकहरूका अनुसार रासायनिक मलको असन्तुलित प्रयोग, प्राङ्गारिक पदार्थको अभाव र एउटै किसिमको बाली लगाइरहने पद्धतिले माटोमा अम्लीयपन बढाएको हो । माटो अम्लीय हुँदा उत्पादन सोचेजस्तो हुँदैन । यसलाई सुधार गर्न कृषि चुनको प्रयोग अनिवार्य देखिएको प्राविधिकहरु बताउँछन् ।
बीउ बिजन प्रयोगशाला झुम्काको तथ्याङ्कले बीउको गुणस्तरमा पनि प्रश्न खडा गरेको छ । चालु आर्थिक वर्षमा परीक्षण गरिएका ७५० नमुनामध्ये झण्डै १२ प्रतिशत (११.९९ प्रतिशत) बीउ गुणस्तरको न्यूनतम मापदण्डमा समेत असफल भएका छन् ।
विशेषगरी धान, मकै र तोरीको बीउमा समस्या देखिएको उक्त प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले बजारमा रहेका एग्रोभेटहरूबाट नमुना संकलन गरी ‘सिड अडिट’ गरिरहेको भए पनि गुणस्तरहीन बीउ बेच्नेहरूमाथि कडा कारबाही हुन नसक्दा किसानहरू बर्सेनि ठगिने क्रम रोकिएको छैन ।





