२०८३ बैशाख १४ सोमबार
Jhapa Today
Adv top

उपाधि जित्ने आर्मी र एपिएफको दाबी


भद्रपुर, बैशाख १४ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपअन्तर्गत फाइनल खेलअघि सहभागी त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबका प्रशिक्षक र कप्तानले उपाधि रक्षा गर्ने दाबी गरेका छन् ।

चन्द्रगढीमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि हात पार्ने दाबी गरेका हुन् । फाइनल खेल आज सोमबार भद्रपुरस्थित मेची रंगशालामा आयोजना हुँदैछ ।

एपिएफ क्लबका प्रशिक्षक जिवेसकुमार पाण्डेले आफ्नो टिम पूर्ण रुपमा फिट भएको बताए । उनले रेफ्रीको निर्णयहरू पूर्वाग्रही जस्तो लागे पनि पूर्ण रूपमा असहमत नभएको प्रतिक्रिया दिए ।

त्यस्तै, एपिएफकी कप्तान अनिता बस्नेतले खेल अवधिभर रेफ्रीको निर्णय मान्नुपर्ने धारणा राख्दै आफूहरूलाई पूर्वाग्रही व्यवहार महसुस नभएको बताइन् ।

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक राजु तामाङले एपिएफसँग प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्दै अघिल्ला कमजोरी सुधारेर एपिएफको जितमा ब्रेक लगाउने दाबी गरे । उनले टोली शारीरिक तथा मानसिक रूपमा पूर्ण तयार रहेको बताए ।

आर्मीकी कप्तान सुनिता चौधरीले मौसमले खेलमा कुनै असर नपार्ने बताउँदै आफूहरू पूर्ण फिट रहेको र सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गरिन् ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

Adv footer