२०८३ बैशाख १४ सोमबार
Jhapa Today
Adv top

चारआलीको हातेमालो वन क्रमिक ऋणमा, अध्यक्ष सिग्देलको मनोमानी


बिर्तामोड, बैशाख १४ । झापाको मेचीनगरस्थित चारआलीमा रहेको हातेमालो सामुदायिक वन उपभोक्त समूह क्रमशः ऋण गएको देखिएको छ । हालका तथा अघिल्लो समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले वन समूहलाई आर्थिक ऋणमा फसाएको उपभोक्तको आरोप छ ।

अध्यक्ष सिग्देलकै कार्यकालमा वनलाई हाल करिब एक करोड रुपैयाँ हाराहारीमा ऋणको बोझ थुपारिएको स्रोत बताउँछ । वनको आम्दानीभन्दा खर्च बढी हुने शीर्षकका पछाडि नेतृत्व लागेका कारण समितिलाई ऋण लागेको उपभोक्ताको आरोप छ ।

वनलाई चरम आर्थिक भार थुपार्ने काम गरेकोप्रति कार्यसमितिका सदस्यले नै नेतृत्वको विरोध गर्दै आएका छन् । पर्याप्त अध्ययन नगरी वनभित्र रहेको पोखरीमा माछा पाल्ने योजना असफल बनेको छ भने माछाको दानामा आर्थिक भार थपिएको छ ।

निचाझोडा पर्यापर्यटन क्षेत्रको विकास, वनभोजस्थल व्यवस्थापन, कल्भर्ट निर्माण लगायतका शीर्षकमा वडा कार्यालय मेचीनगर १३, १४ र मेचीनगर नगरपालिकाको कार्यालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशबाट पटकपटक करिब ३ करोड बजेट ल्याए पनि विकास निर्माणमा सुधार ल्याउन नसकेको समिति र उपभोक्ताको गुनासो छ ।

पर्यपर्यटन विकास प्रर्वद्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकार दिँदै आएको बजेट रकम सही ठाउँमा प्रयोग नगरेर चरम अनियमितता गरेको स्थानीयको भनाइ छ ।

वनको अनियमितता र घाटाको विषयमा छानबिनसहितको माग गर्न जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा निवेदन गर्ने उपभोक्ताले जनाएका छन् ।

यसैबीच, अध्यक्षले आफूखुसी निर्णय गरेको भन्दै चारजना महिला सदस्यले सामुहिक राजिनामा दिएका छन् । समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलको एकल निर्णयमा वन सञ्चालन गर्न खोजेको भन्दै मुल समितिका उनीहरुले राजिनामा दिएका हुन् ।

Adv footer