
बिर्तामोड, बैशाख १८ । झापाको बिर्तामोडमा हिजो राति अबेरसम्म सञ्चालन भएका सांगीतिक कार्यक्रम (कन्सर्ट) मा कुटाकुट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-५ स्थित मंगलदिप टोलमा सञ्चालन भइरहेको कन्सर्टमा कुटपिट भएको थियो । मदिरा सेवन गरेर मध्यरातमा कुटाकुट भएको हो ।

हिजो राति ११ः३० बजे भएको कुटपिटबाट एकजना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड-६ स्यालडाँगी बस्ने २२ वर्षीय सोम हस्दा कुटपिटबाट घाइते भएका हुन् । अनुहारमा चोट लागेका हस्दाको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न इलाम नगरपालिका-१२ घर भई हाल अर्जुनधारा-११ बस्ने २४ वर्षीय मनिष लिम्बू, अर्जुनधारा-११ बस्ने १७ वर्षीय सुजल गजमेर र पाँचथर हिलिहाङ-७ बस्ने १९ वर्षीय सागर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिजो राति सो स्थानमा पूर्व ग्रुपको आयोजनामा जोन एन्ड दि लोकल्स लगायत कलाकारको प्रस्तुति रहेको थियो । कन्सर्टमा ध्वनि उच्च बनाइएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइएको थियो ।





