
बिर्तामोड, बैशाख १८ । झापाको भद्रपुरमा पहिलोपटक लामो दूरीको साइकल यात्रा टुर दि भद्रपुर सम्पन्न भएको छ । पर्यटन प्रबर्द्धनसँगै भद्रपुर नगरको पहिचान दिलाउने उद्देश्यसाथ यात्रा आयोजना गरिएको हो ।

६७ किलोमिटरको टुर दि भद्रपुरले झापाका तीन पालिकाको परिक्रमा गरेको छ । भद्रपुर साइकल समाजको आयोजनामा भएको यात्रामा नेपाल, भारत र भुटानका २३७ जना साइकल राइडरहरूको सहभागिता रहेको थियो ।

साइकल यात्रा भद्रपुरबाट दक्षिण कचनकवल हुँदै हल्दिबारी परिक्रमा गर्दै भद्रपुरमा आएर सम्पन्न भएको थियो । यात्रामार्फत ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक क्षेत्रहरुको प्रबर्द्धनमा सहयोग पुग्ने समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।

बिहान ७ बजे सुरू भएको साइकलयात्राको उद्घाटन भद्रपुर नगरप्रमुख गणेश पोखरेलले गरेका थिए । एक औपचारिक कार्यक्रमका बीच यात्राको समापन गरिएको थियो ।





