बिर्तामोड, बैशाख २६ । झापा गौरादहमा दुईवटा सवारीसाधन ठोक्किँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान ११ बजे भएको हो ।

गौरादह–५ स्थित स्कुलचन बजारमा यात्रुबाहक बस र टिपर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका हुन् । दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ७१५३ नम्बरको टिपर भित्री सडक खण्डमा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा घाइते हुनेहरूमा बस चालक कृष्णप्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिग्देल, सिर्जना पराजुली र किस्मत खड्का रहेका छन् ।

घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने अन्यको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ । प्रहरी चौकी महारानीझोडाले टिपर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।






