२०८३ जेठ ४ सोमबार
Jhapa Today
Adv top

झापा जिल्ला अदालतमा ’मिट द जज’ कार्यक्रम


बिर्तामोड, जेठ ४ । झापा जिल्ला अदालतमा ’मिट द जज’ कार्यक्रम सम्पन्न भएको छ । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलसँग अदालतका सेवाग्राही सरोकारवालाहरुले भेटघाट गरेका हुन् ।

सेवाप्रदायक कार्यालय अदालतबाट प्रवाह हुने सेवा, के कस्तो पाउनु भएको छ ? भनेर सेवाग्राहीले प्रमुख न्यायाधीशले राखेको जिज्ञासामा सहभागी सेवाग्राहीले आ–आफ्नो धारणा र प्रतिक्रिया दिएका थिए ।

अदालतबाट प्रदान गरिने सेवा, उपलब्ध सेवा सुविधाको अवस्था, अदालत र कर्मचारीबाट सेवाग्राहीप्रति गरिएको व्यवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए, नभएको विषयमा सेवाग्राहीसँग न्यायाधीशको प्रत्यक्ष भेटघाट गरिएको श्रेस्तेदार डिल्लीराम प्रसाईंले बताए ।

अदालतको रणनीतिक योजनाअनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउन र सेवा प्रवाह अझ जनमैत्री बनाई सेवाप्रवाहमा अझ सुधार ल्याउन “न्यायाधीश भेटघाट“ कार्यक्रम सञ्चालन गरिएको हो ।

न्यायाधीश भेटघाट कार्यक्रममा मुद्दाका पक्षहरूसँग विचाराधीन मुद्दाको हार जितको सम्बन्धमा छलफल नभई मुद्दाको कामकारबाही, सेवा प्रवाह प्रक्रियामा भएका असन्तुष्टि र गुनासा न्यायाधीशले प्रत्यक्ष सुन्ने गरिएको छ ।

न्यायाधीश भेटघाट कार्यक्रममा ४० जनाभन्दा बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गौरीगञ्ज न्यायिक समिति सदस्य तथा मेलमिलापकर्तासँग अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा गौरिगञ्जका उपाध्यक्ष, एवम न्यायिक समिति संयोजक पुजन न्यौपाने कुवर तथा अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतको उपस्थिति रहेको थियो ।

Adv footer