
बिर्तामोड, जेठ ५ । झापाको दमक घर भएर विराटनगरस्थित एक बैंकमा कार्यरत ४२ वर्षीय पिताम्बर खड्काले फेसबुकमा स्टाटस लेखेर ‘तिमीहरुले मलाई मार्यौ’ भनेर आत्महत्या गरेका छन् ।

ग्लोबल आइएमइ बैंकको विराटनगर शाखामा कार्यरत खड्काले सामाजिक सञ्जाल फेसबुकमा चारजना बैंककै कर्मचारीको फोटो पोस्ट गरेको केही समयमै आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार खड्काले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामुहिक फोटो फेसबुकमा सार्वजनिक गरेका थिए । पोस्टमा उनले उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका थिए ।

फेसबुकमा स्टाटस राखेको केही समयपछि उनले आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको पाइएको छ ।

घटना साँझको करिब ५ बजेतिर भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतकका बुवा महेश खड्काले छोरालाई झुन्डिएको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरिसकेको छ ।


दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । प्रहरीले घटनाको मुख्य कारण र परिस्थितिबारे थप गहन अनुसन्धान भइरहेको जनाएको छ ।

खड्काले चारजनाको फोटो राखेर आफू मर्दै गरेको स्टाटस लेख्नुको कारणबारे उनीहरुबीच केही समस्या रहेको सम्बन्धमा पनि अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ ।





