२०८३ जेठ ५ मंगलबार
Jhapa Today
Adv top

खड्का मृत्यु प्रकरणः बैंकका उच्च कर्मचारीविरुद्ध मुद्दा दर्ता


बिर्तामोड, जेठ ५ । झापा दमकका बैंकर ४२ वर्षीय पिताम्बर खड्काले आत्महत्या गरेपछि उनको परिवारले चारजनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको छ ।

ग्लोबल आइएमइ बैंकको कोशी प्रदेशिक कार्यालयमा कार्यरत खड्काले हिजो आफ्नै घरमा आत्महत्या गर्नुअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित चारजना उच्च कर्मचारीका कारण आफू मर्न बाध्य भएको फेसबुक स्टाटस लेखेका थिए ।

प्रहरीले ग्लोबल आइएमई बैंक केन्द्रीय कार्यालयका सिइओ सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, उप महाप्रबन्धक दिपचन्द्र रेग्मी र मानव संशाधन विभाग प्रमुख अनामिका कुँवर सिंहविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।

खड्का परिवार जाहेरी दिन आज बिहान इलाका प्रहरी कार्यालय दमक पुगेको थियो । दमक प्रहरीले चारजनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको हो ।

बैंकका अनुसार खड्काको कार्यदक्षतालाई लिएर बैंकभित्र केही समयदेखि विवाद र प्रश्नहरू उठेको थियो । बैंकको आन्तरिक अनुसन्धानले उनले वित्तीय कारोबारका क्रममा नियमको उल्लंघन गरेको, विशेषगरी लोन प्रवाहलगायतका विषयमा आर्थिक अनुशासन पालना नगरेको आरोप लगाएको थियो ।

यसै आधारमा उनलाई शाखा प्रबन्धकको जिम्मेवारीबाट हटाएर प्रदेश कार्यालयमा सरुवा गरिएको थियो । सोही आरोपका कारण उनलाई दुई वर्षसम्म बढुवा नहुने गरी आन्तरिक कारबाही गरिएको थियो ।

बैंक प्रशासनको यो कारबाहीपछि खड्का तनावमा थिए । उनी आफूमाथि लागेको आरोप निराधार रहेको र त्यसलाई प्रमाणित गर्न आफूसँग समय हुनुपर्ने भन्दै तीन महिनाको समय मागेका थिए । र, बैंकले पनि उनलाई तीन महिनाको समय दिएको थियो ।

सोही क्रममा उनले ‘आफूलाई लागेका आरोपहरूको स्पष्टीकरण दिन’ भन्दै जेठ ४ गतेसम्मको समय सीमा राखेर बैंकमा तीन महिनाअघि राजीनामा पत्र पनि बुझाएका थिए ।

उनले चित्तबुझ्दो आधार पेस गर्न नसकेको भन्दै बैंकले उनको राजीनामा जेठ ४ गतेसम्म स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएको दिन नै उनले घरमै आत्महत्या गरेका हुन् ।

Adv footer