२०८३ जेठ ७ बिहीबार
Jhapa Today
Adv top

कनकाईमा पतिले आत्महत्या गरेपछि पत्नी र भारतीय नागरिकविरुद्ध रेडकर्नर नोटिस


बिर्तामोड, जेठ ७ । झापाको कनकाई नगरपालिकाका एक युवाले आत्महत्या गरेपछि उनकी पत्नी र एक भारतीय नागरिकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएको छ ।

आत्महत्या गर्ने कनकाई–१ जामुनबारीका २७ वर्षीय हेमन्त दर्जी ‘विशाल’ की पत्नी पूजा महरा दर्जी र भारतको दिघलबैंक निवासी इब्राहिम उर्फ कान्टुविरुद्ध अनुसन्धान अघि बढ्दै जाँदा रेड कर्नर नोटिस जारी गरिएको प्रहरीले जनाएको छ ।

विशालले गत बैशाख १ गते आफ्नै घरमा आत्महत्या गरेका थिए । पूजा र इब्राहिम कतारमा रहेको जनाइएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दुवैजना हाल फरार रहेको र उनीहरूको लोकेसन विभिन्न देशतर्फ फैलिएको आशंकामा इन्टरपोलमार्फत खोजी प्रक्रिया अघि बढाइएको हो ।

परिवारले दिएको उजुरीअनुसार विशालको वैवाहिक जीवनमा देखिएको विवाद, बाह्य सम्बन्ध र निरन्तर मानसिक तनावले घटनालाई गम्भीर बनाएको दाबी गरिएको छ । इब्राहिमले सामाजिक सञ्जाल तथा फोनमार्फत अश्लील सामग्री पठाउने, अपमानजनक व्यवहार गर्ने र धम्की दिने गरेको आरोप परिवारले लगाएको छ ।

वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका बेला पनि विशाललाई निरन्तर मानसिक दबाब दिइएको र त्यसपछि परिवारले उनलाई गत माघमा घर फर्काएको बताइएको छ ।

दर्जी परिवारले प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म पटकपटक उजुरी दिएको भए पनि समयमा प्रभावकारी अनुसन्धान नभएको गुनासो गर्दै आएको छ । उनीहरूले प्रहरीको ढिलासुस्तीका कारण घटना दुखद मोडमा पुगेको आरोपसमेत लगाएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार फेक आइडी बनाएर धम्की दिएको उजुरीका आधारमा प्रारम्भिक मुद्दा दर्ता गरिएको थियो । पछि आत्महत्यासँग सम्बन्धित तथ्यहरू पनि खुलेपछि अनुसन्धान विस्तार गरी दुवैजनाविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको उनले बताए ।

परिवारले पत्रकार सम्मेलनमार्फत घटनामा विवाहेत्तर सम्बन्धसमेत रहेको दाबी गर्दै निष्पक्ष छानबिन र न्यायको माग गरेको छ । साथै, विदेशमा रहेको भनिएकी पूजालाई पनि कानुनी प्रक्रियामार्फत फर्काएर अनुसन्धान गर्न उनीहरूले माग गरेका छन् ।

Adv footer