
बिर्तामोड, जेठ १४ । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ । बोर्डमा ८ महिनादेखि सबै पद रिक्त थियो ।

कोशी सरकारले बोर्डको सदस्य सचिवमा सुनसरी इनरुवाका विप्लव घोष नियुक्त गरेको छ । पुरुष उपाध्यक्षमा पूर्वखेलाडी मोरङ विराटनगरका वसन्त अर्याल र महिला उपाध्यक्षमा विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त भएका छन् ।

त्यस्तै, बोर्डको सदस्यमा झापाका बालजित राई र वीणा बस्नेत, तेह्रथुमका केशव भट्टराई, सुनसरीका किशोरविक्रम साह र सुशीला राई, इलामका टिकाराम पुरी, उदयपुरका दुर्गा कठायत र ओखलढुंगाका विश्वराज राई नियुक्त भएका छन् । पदाधिकारी तथा सदस्यहरूको कार्यकाल ४ वर्षको हुनेछ ।

बोर्ड नेतृत्वविहीन बन्दा प्रदेशका खेलकुद गतिविधि शून्यजस्तै थियो । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी बोर्डमा पदाधिकारी नियुक्त गरेको हो । बुधबार राति सामाजिक विकासमन्त्री रामप्रसाद महतोले बोर्डमा दुई उपाध्यक्ष र सदस्य सचिवसहित ११ जना सदस्य नियुक्त गरेका हुन् ।

बैशाख ३० गते प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश–२०८१ जारी गरिएको थियो । ऐनमा उपाध्यक्ष र सदस्य सचिवसहित सदस्यको संख्या १५ जना रहने व्यवस्था थियो । अध्यादेशमार्फत संशोधन गरी एकजना उपाध्यक्ष थपिएको थियो । सदस्यको संख्या २५ पुर्याइएको थियो ।









