२०८३ जेठ १५ शुक्रबार
Jhapa Today
Adv top

कोशीको राष्ट्रपति रनिङ शिल्ड जेठ १७ र १८ गते हुने


बिर्तामोड, जेठ १५ । कोशी प्रदेश खेलकुद विकास बोर्डले १६ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित बोर्डको कार्यालयमा सम्पन्न बोर्डको ३२ औँ बैठकले प्रदेशस्तरीय छनोट प्रतियोगिता जेठ १७ र १८ गते गर्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री रामप्रसाद महतोको अध्यक्षतामा बैठकले समय अभावका कारण छोटो समयमा छनोट प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको हो ।

बोर्डका सदस्य टिकाराम पुरीले जेठ १८ गतेभित्र प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गर्दै सोही दिन १६ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीहरूको विदाई समेत गर्ने निर्णय भएको जानकारी दिए ।

कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्लास्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ । बोर्डमा पदाधिकारी नहुँदा प्रदेशको छनोट रोकिएको थियो ।

लामो समयदेखि पदाधिकारीविहीन रहेको बोर्डमा जेठ १३ गते राति मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी तथा सदस्यहरूको नियुक्ति भएको थियो । बोर्डमा दुई उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरू गरेर ११ जनाको नियुक्ति भएको छ ।

Adv footer