२०८३ जेठ १५ शुक्रबार
Jhapa Today
Adv top

झापाको नयाँ गन्तव्य घैलाडुब्बा पातालगङ्गा


बिर्तामोड, जेठ १५ । झापाको मेचीनगर–५ र ८ मा रहेको ऐतिहासिक एवम पुरातात्विक महत्व बोकेको पातालगङ्गा घैलाडुब्बा शिव तथा देवी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा गन्तव्य बनेको छ ।

महाभारतकालीन पौराणिक कथा र राणाकालीन इतिहाससँग जोडिएको यो मन्दिर पूर्वी क्षेत्रकै सबैभन्दा पुरानो धार्मिकस्थलमध्ये एक मानिन्छ । विसं २०१५ मा स्थानीय कुमारसिंह चौधरी र पानेश्वरी चौधरीले यहाँ मन्दिर बनाएको ताम्रपत्र भेटिएको छ भने मन्दिरको इतिहास त्योभन्दा दशकौँ पुरानो मानिएको छ ।

प्रधानमन्त्री जङ्गबहादुर राणा शिकार खेल्न आउँदा जङ्गलको माझमा साधुसन्तले धुनी जगाएर तपस्या एवम् साधना गरिरहेको देखेपछि पहिलोपल्ट मन्दिरको स्थापना गरिदिएको सुरेन्द्रनगर घैलाडुब्बा शिव तथा देवी मन्दिर संरक्षण समितिका अध्यक्ष गणेशकुमार खरेल बताउँछन् ।

पुरातत्व विभागले झापाका दुईवटा महत्वपूर्ण धार्मिक स्थललाई आफ्नो सूचीमा राखेर संरक्षण गरिरहेकोमा यो मन्दिर पनि विसं २०७७ मा विभागको सूचीमा सूचीकृत भएको छ ।

यस मन्दिरको मुख्य विशेषता यसको निर्माण शैली हो । मन्दिरको मुल संरचनामा कतै पनि फलामको किला, काँटी, सिमेन्ट वा ढुङ्गाको प्रयोग गरिएको छैन । यो माटोबाट मात्र निर्मित अनौठो र ऐतिहासिक संरचना हो ।

यस धार्मिक क्षेत्रमा घैलाडुब्बा र पातालगङ्गा गरी दुई अलगअलग स्थान र मन्दिर छन् । महाभारत कालमा भीमसेनले लखेट्दै ल्याउँदा यस पातालगङ्गा क्षेत्रमा आइपुगेपछि किचकले आत्मसमर्पण गरेको र पाण्डवले जलधारा उत्पत्ति गरेको किङ्वदन्ती छ । किचकलाई यहीँको जलपान गराएर मात्र पृथ्वीनगरको किचकबध स्थलतर्फ लगिएको विश्वास गरिन्छ ।

मन्दिरबाट करिब २०० मिटर दक्षिणमा चियाबारीबीचमा ‘पातालगङ्गा भगवती’को उत्पत्तिस्थल रहेको छ भने यसको नजिकै उत्तरबाहिनी नदी बगेकी छिन् । यहाँको जलको दृश्य निकै अलौकिक छ । चैतको खडेरी होस् वा साउनको वर्षा, यहाँ धरतीबाट सधैँ एकैनासको जलधारा उम्रिरहने गर्दछ ।

यस ऐतिहासिक मन्दिरमा १०० वर्षीय वृद्ध पुजारी मणिराम दासले पूजाअर्चना गर्दै आउनुभएको छ । पछिल्लो समय स्थानीय समुदाय र स्थानीय सरकारको सक्रियतामा मन्दिरको संरक्षण र सौन्दर्यकरण तीव्र पारिएको छ ।

Adv footer