२०८३ जेठ १६ शनिबार
Jhapa Today
Adv top

झापा आउँदै गरेको ट्रक घोर्ले भीरबाट झर्‍यो


बिर्तामोड, जेठ १६ । इलामबाट गोलिया बोकेर झापा आउँदै गरेको ट्रक दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । दुर्घटना इलामको राकसे घोर्ले भीर क्षेत्रमा भएको हो ।

इलामको इलाम नगरपालिका–११ राकसे घोर्ले भीरस्थित केचना–कञ्चनजंघा भित्री सडकखण्डमा इलामबाट झापातर्फ जाँदै गरेको मे. १ ख २२६७ नम्बरको ट्रक अनियन्त्रित भई करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी हवल्दार ताराबहादुर काफ्लेको कमाण्डमा प्रहरी टोली खटिएको थियो । थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक कुलदिप चन्दको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा ट्रक चालक बिर्तामोडका अन्दाजी ५६ वर्षीय कमल आचार्य गम्भीर घाइते भएका छन् । उनको टाउको, आँखा, ढाड तथा खुट्टामा चोट लागेको छ ।

उद्धारपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

त्यस्तै, सहचालक इलाम देउमाई नगरपालिका–३ शान्तिडाँडा निवासी २३ वर्षीय लक्ष्मण राउत घाइते भएका छन् । उनको ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल रिफर गरिएको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका छन् । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको छ भने ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

Adv footer