२०८३ जेठ १८ सोमबार
Jhapa Today
Adv top

बुद्धशान्तिमा बर्खा स्मृति हाफ म्याराथन हुने


बिर्तामोड, जेठ १८ । झापाको बुद्धशान्तिमा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही साउन १९ गते बुद्धशान्ति गाउँपालिकामा आयोजना हुने भएको हो ।

आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंका अनुसार एथ्लेटिक्स खेलाडीलाई प्रोत्सहान गर्ने उद्देश्यले बुद्धशान्तिमै पहिलोपटक हाफ म्याराथन हुन लागेको हो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौँले नगद १० हजार र ट्रफी प्राप्त गर्नेछन् । विजयी धावकललाई आयोजकले एक वर्षको लागि जीवन बीमा गरिदिने भएको छ ।

हाफ म्याराथन बुद्धशान्ति गाउँपालिकाको प्राङ्गणबाट सुरु भई पुलचोकस्थित हडियाको पुल उत्तर पूर्वबाट बुद्धशान्ति–४ मंगलबारे हुँदै मदन भण्डारी राजमार्गदेखि बुद्धशान्ति–१, नमुना भोटेटार चोक, होक्से चोक, जयपुरदेखि बुधबारे चोक भएर गाउँपालिकाको प्राङ्गणमा आएर सम्पन्न हुनेछ ।

२१ किलोमिटर दूरीको सो प्रतियोगितामा नेपाल र भारतका गरी ४ सयजना धावकहरुलाई सहभागी गराइने आयोजकले लक्ष्य लिएको प्रसाईंले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन साउन १० गतेभित्र अनलाइन फर्म भर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतिष्ठानले यसअघि दुई संस्करण अन्तरपालिका जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । तर, खेल मैदान अभावमा यो वर्ष हाफ म्याराथन आयोजना गर्न लागिएको हो ।

Adv footer