२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना कहर : नेपालमा ६६ मुलुकलाई प्रतिबन्ध


झापा, चैत ७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरसका कारण प्रतिबन्ध लगाइएका मुलुकको नाम सार्वजनिक गरेको छ । चैत ७ गते शुक्रबार मध्यरातबाट लागु हुनेगरी सरकारले ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिबन्ध लागेको छ ।

सरकारले युरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाउने छैनन् ।

प्रधिकरणले त्यहीअनुसार उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार युरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एसिया र खाडीका १९ देशका साथै इरान, मलेसिया, जापान र कोरियाबाट पनि आउन पाइने छैन ।

प्रतिबन्धित मुलुकहरु
युरोप
रसिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, स्पेन, युक्रेन, पोल्यान्ड, रोमानिया, नेदरल्यान्ड, बेल्जियम, चेक रिपब्लिक, ग्रिस, पोर्चुगल, स्विडेन, हंगेरी, बेलारुस, अस्ट्रिया, सर्विया, स्विटजरल्यान्ड, बुल्गेरिया, डेनमार्क, फिनल्यान्ड, स्लोभाकिया, नर्वे, आयरल्यान्ड, क्रोएसिया, मोल्दोभा, बोस्निया हर्जगोभिना, अल्वानिया, लिथुवानिया, नर्थ म्याकडोनिया, स्लोभानिया, लात्भिया, इस्टोनिया, मोन्टेनेग्रो, लक्जेम्वर्ग, माल्टा, आइसल्यान्ड, अन्डोरा, मोनाको, लिचेन्स्टाइन, सानमारिनो, होली सी ।

पश्चिम एसिया र खाडी

टर्की, इराक, साउदी अरेबिया, यमन, सिरिया, अजरबैजान, युएई, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, ओमान, कुवेत, जर्जिया, अर्मेनिया, कतार, बहराइन, साइप्रस ।

अन्य
इरान, मलेसिया, दक्षिण कोरिया, जापान

९ देशका ११ गन्तव्यबाट काठमाडौँसम्म सिधा उडान बन्द
सरकारको निर्णयअनुसार वायुसेवा कम्पनीहरुको धेरै उडान स्वतः बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालले प्रतिबन्ध लागेका ६८ मुलुकमध्ये ९ देशसँग नेपालको सिधा हवाई सम्पर्क स्थापित थियो ।

९ देशका ११ गन्तव्यलाई नेपालबाट १३ वटा एयरलाइन्सले जोडिरहेका थिए । अब ती देशसँग हवाई सम्पर्कसमेत टुटेको छ । नेपालमा २८ वायुसेवा कम्पनीले दैनिक ६५ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्दै आएका थिए । तर, कारोनाको प्रभावपछि ९० प्रतिशतभन्दा बढी उडान कटौती भइसकेको छ । अहिले अधिकांश उडान भारतीय सहरमा मात्र सीमित भएको छ । (अनलाइनखबरबाट सम्पादित)

Comments are closed

Adv footer