२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा घरघरमै हात धुने छुट्टै स्थान


झापा, चैत १२ । विश्व यतिबेला कोरोना भाइरसको प्रभावबाट प्रभावित बनेको छ । शक्तिशाली राष्ट्रहरुसमेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । वैज्ञानिकहरु कोरोना भाइरसको खोप परीक्षण गर्न लागेको समाचारहरुसमेत आइरहेका छन् भने विश्व स्वास्थ्य संगठन कोरोना भाइरसबाट बच्न विभिन्न उपायहरु अवलम्बन गर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धुने, मास्कको प्रयोग, सामाजिक दूरी अवलम्बन, आइसोलेसन तथा व्यक्तिगत सरसफाइलाई ध्यान दिन आग्रह गरिरहेको छ ।

विराट सामुदायिक अध्ययन केन्द्र झापाले झापाको बिर्तामोड नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । कोरोना भाइरसले पारिरहेको यो कठिन अवस्थामा समेत पूर्ण सरसफाइ अभियानकर्मीहरु सरसफाइको क्षेत्रमा दिनरात खटिरहेका छन् । बिर्तामोड, गौरीगञ्ज र कमल गाउँपालिकामा सरसफाइकर्मीहरु समुदायस्तरमा चर्पीको स्तरोन्नति, हात धुने स्थान निर्माण, फोहोरमैला व्यवस्थापन, व्यक्तिगत सरसफाइ तथा घरायसी सरसफाइजस्ता कुराहरुमा ख्याल गर्न आग्रह गरिरहेका छन् ।

पूर्ण सरसफाइ अभियान सुरुवात भएदेखि नै व्यक्तिगत सरसफाइमा विशेष जोड दिन आग्रह गरिरहेको सरसफाइकर्मीहरु यो कठिन समयमा पनि सरसफाइ आफ्नै लागि हो भन्दै चेतना छरिरहेका छन् । पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको धेरै समुदायमा हात धुने स्थानको निर्माण भएका छन् भने जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने आनीबानीमा परिवर्तन समेत आउन् थालेको छ ।

गौरीगञ्ज गाउँपालिकाको सुदमभिट्टामा रहेका पचास घरधुरीले हात धुने स्थान बनाएका छन् भने हात धुने बानीमा पनि परिवर्तन आउन थालेको छ । यस समुदायका सबै घरधुरीले हात धुने स्थान निर्माण गरेका र जोखिमपूर्ण अवस्थामा हात धुनेको संख्यामा पनि बृद्धि भएको स्थानीय सुनिता पासवान बताउँछिन् ।

गौरीगञ्ज गाउँपालिकाकै भाकुरमाडीमा रहेको ९० भन्दा बढी घरहरुले समेत बजारबाट एकैपटक बाल्टी खरिद गरेर घरघरमा हात धुने स्थानको निर्माण गरेका छन् । यसअघि हात धुने स्थान बनाउने तर हात धुने कुरालाई त्यति महत्व नदिने मानिसहरु हात धुने स्थान बनाएर खुसी भएको स्थानीय उत्तम ताजपुरिया बताउँछन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ८ हर्चनामा रहेका ५७ घरधुरीमा समेत हात धुने स्थानको व्यवस्थापन भएको छ । पूर्ण सरसफाइ अभियान अगाडि कसैकोमा हात धुने स्थान नभएको तर लामो प्रयास र समुदायमा आएको परिवर्तनले यस टोलका सबै घरधुरीमा हात धुने स्थानको निर्माण भएको पूर्ण सरसफाइ सहजकर्ता अनिल गौतम बताउँछन् । हर्चना बासीहरु आफ्नो टोललाई पूर्ण सरफाइयुक्त नमुना टोल बनाउन मेहनत गरिरहेको सरसफाइ समितिका अध्यक्ष जितलाल राजवंशी बताउँछन् ।

यो कठिन समयमा पूर्ण सरसफाइ अभियानकर्मीले वडालाई पु¥याएको सहयोगप्रति खुसी व्यक्त गर्छन् गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष अघनु राजवंशी । पूर्ण सरसफाइ अभियानकर्मीहरुको मेहनतले नै हात धुने बानीमा यति छिट्टै परिवर्तन आउन् सम्भव भएको राजवंशी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer