२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सार्क मुलुकमा कोरोनाको के छ अवस्था ?


बिर्तामोड, चैत १४ । कोरोना भाइरसका कारण दक्षिण एसियाली देशहरु नेपाल, भूटान र माल्दिभ्सबाहेक अन्य देशहरुका नागरिकले ज्यान गुमाएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरु पनि अछुतो रहेनन् । दक्षिण एसियाका सबै देशमा कोरोना भाइरसका बिरामी देखिएका छन् । यी देशमा अहिले कतै ‘लकडाउन’ त कतै स्वास्थ्य आपतकाल घोषणा गरिएको छ ।

नेपाल
नेपालमा हालसम्म ३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । एकजना उपचारपछि निको भएर घर फर्केका छन् भने दुईजनाको उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै सरकारले एक साताको लकडाउन घोषणा गरेको छ । मंगलबार लागु भएको लक डाउनको आज चौथो दिन हो । संक्रमित भेटिने क्रम नरोकिएमा यो अझै केही दिन बढ्ने निश्चित छ ।

माल्दिभ्स
माल्दिभ्समा १३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । हालसम्म त्यहाँ कसैको मृत्यु भने भएको छैन ।

भुटान
भुटानमा नेपालभन्दा कम २ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । सुरुमा भारतबाट छिरेका एक व्यक्तिमा कोरोना देखिएपछि भुटानले सबै नाकाहरु बन्द गरेको थियो। अहिले भुटानमा नयाँ संक्रमित थपिएका छैनन् ।

भारत
भारतमा २१ दिने लकडाउन लगाइएको छ । त्यहाँ लकडाउन लगाएको आज तेस्रो दिन हो । भारतमा ६ सय ३९ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १३ जनाको मृत्यु भइसकेको छ । नयाँ दिल्लीबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कश्मिर घाँटीसम्म पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २१ दिनसम्मका लागि ‘लकडाउन’ घोषणा गरेका हुन् । यसअघि उनले एक दिने जनता कर्फ्यू घोषणा गरेका थिए । उक्त घोषणालाई जनताले अटेर गरेको र संक्रमण झन् फैलदै गएपछि मोदीले २१ दिने लकडाउन गरेका हुन् । संक्रमणको असर कम नभए उक्त लकडाउन अझै बढाउने सरकारको तयारी छ ।

पाकिस्तान
पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ १ हजार जनाभन्दा बढीमा संक्रमण देखिएको छ जसमध्ये सिन्ध प्रान्तमा मात्र ४ सय संक्रमित भेटिएको छ ।
प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै चीनसँग सहयोग मागेका थिए । चीनले केही स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको छ ।

बंगलादेश
भारतपछि अर्को प्रभावित देश हो बंगलादेश । बंगलादेशमा ३९ जना कोरोना संक्रमित पाइएको छ । बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कोरोना भाइरसको संक्रमित सुरु भएसँगै बंगलादेशले सार्वजनिक यातायात र अन्तरिक उडानमा समेत रोक लगाएको थियो । आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि बंगलादेशमा नयाँ संक्रमित भेटिएका छैनन् ।

श्रीलंका
दक्षिण एसियाली देशमध्ये श्रीलंका पनि एक सयभन्दा धेरै कोरोना संक्रमित भएको देश हो । श्रीलंकामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या १०२ पुगेको छ । त्यहाँ हालसम्म कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन । श्रीलंकाका प्रधानमन्त्री गोतावे राजपाक्षले संक्रमित बिरामी देखिने बित्तिकै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए । आन्तरिक हवाई यात्रामा पनि रोक लगाएका थिए । त्यहाँ अनिश्चितकालीन कर्फ्यू कायम छ ।

अफगानिस्तान
पाकिस्तान र भारतसँग सिमा जोडिएको अफगानिस्तानमा ८४ जनामा कोरोना संक्रमण देखिएको छ । २ जनाको मृत्यु भएको छ । पाकिस्तान र भारतसँग नजिकको कनेक्सन भएका कारण यहाँ संक्रमित बढ्ने भएकाले उसले सीमा बन्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer