२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वका २५ मध्ये २० जनाको कोरोना रिपोर्ट नेगेटिभ


पाँचजनाको रिपोर्ट आउन बाँकी

ग्राफिक्स : नेपालन्युज

झापा, चैत १५ । प्रदेश १ मा कोरोना भाइरस संक्रमण (कोभिड १९) का शंकास्पद २५ जना बिरामीमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबारसम्म परीक्षणका लागि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएकामध्ये २० जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो । पाँचजनाको भने रिपोर्ट आउन बाँकी छ ।

प्रदेश १ को आपतकालीन कार्य सञ्चालन केन्द्र विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, गाईघाटको उदयपुर अस्पतालबाट एक, विराटनगरको कोसी अस्पतालबाट छ र झापाको मेची अस्पतालबाट दुईजनाको गरी २५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको थियो ।

७८ जना घर फर्किए
प्रदेश १ मा विभिन्न क्वारेन्टाइनमा बसेका ७८ जना घर फर्किएका छन् । त्यसैगरी आइसोलेसनमा भर्ना भएकामध्ये ५ जना डिस्चार्ज भएका छन् ।

आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार हाल क्वारेन्टाइनमा ३ सय २८ जना रहेका छन् । १९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । ३ सय ६९ जना होम क्वारेन्टाइनमा छन् । यसरी बस्नेहरु वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरुको परिवारका सदस्य छन् ।

प्रदेशका १०९ स्थानमा एक हजार आठ सय ४८ शैय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । त्यस्तै, प्रदेशका विभिन्न ३९ अस्पताल एवम् स्थानीय तहमा स्वास्थ्य केन्द्रमा गरी दुई सय ५६ वटा आइसोलेसन शैय्या छ । प्रदेशका ठुला २९ अस्पतालमा तीन सय ७५ शैय्याको आइसियु कक्ष तयार पारिएको छ ।

आकस्मिक कामका लागि ३ करोड बजेट

प्रदेश १ सरकारले कोरोना भाइरस रोकथामका लागि ३ करोड रुपैयाँ निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक औषधि उपचारका लागि तत्काल पर्ने समस्यालाई समाधान गर्न सो रकम खर्च गर्ने छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले भारतसँग सीमा जोडिएका १४ स्थानीय तहमध्ये विराटनगर महानगरपालिका र मेची नगरपालिकालाई दस÷दस लाख र अरुको हकमा पाँचपाँच लाख रुपैयाँ प्रदान गरिने जानकारी दिए । यो रकमले आकस्मिक औषधि उपचार, क्वारेन्टाइनमा रहेकालाई खाना खुवाउने प्रबन्ध मिलाउन, हेल्थ डेक्समा चाहिने सामग्री बन्दोबस्त गर्न खर्च गरिनेछ ।

राहत प्याकेजको तयारी
लकडाउनका कारण प्रभावित विपन्न तथा श्रमिक परिवारका लागि प्रदेश १ सरकारले राहत प्याकेज ल्याउने तयारी गरेको छ । लकडाउन लम्बिने अवस्था आएपछि राहत प्याकेज ल्याउन सुझाव संकलन गर्न मुख्यमन्त्री शेरधन राईले सर्बपक्षीय छलफल आह्वान गरेका थिए ।

छलफलबाट प्राप्त सुझावका आधारमा प्रदेश सरकारले केही दिनभित्र राहत प्याकेज ल्याउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, सरकारी अस्पतालका प्रतिनिधि, निजी अस्पताल सञ्चालक, उद्योगी, व्यवसायीका प्रतिनिधि सहभागी थिए । -अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer