२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अस्ट्रेलियामा सात नेपालीमा कोरोना


झापा, चैत १५ । अस्ट्रेलियामा रहेका सातजना नेपालीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चारजना नेपाली विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने उनीहरू हाल आइसोलेसनमा रहेका छन् । उनीहरू बस्ने अपार्टमेन्टमा ५० भन्दा बढी नेपाली विद्यार्थी समेत बसोबास गर्दै आएका छन् ।

‘ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य तीनजनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरू आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेका छन्’, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भने, ‘हामीले उनीहरूको स्वास्थ्य स्थितिका बारेमा चासो राखेका छौँ । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको जानकारी आएको छ ।’

यसैगरी, मेलवर्नमा एकै परिवारमा रहेका तीनजनामा कोरोना संक्रमण देखिएपछि उनीहरूसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न थालिएको छ । ‘हामीकहाँ हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नमा बसोबास गर्ने सात जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दूतावासले उनीहरूसँग सम्पर्क गरिरहेको छ’, राजदूत दाहालले भने ।

कोरोनाको संक्रमणले संसार आतंकित बन्दै गएको बेला अस्ट्रेलियामा भने अझै सार्वजनिक यातायात र सपिङ सेन्टरहरू बन्द भएका छैनन् । अझसम्म केन्द्रीय सरकारले स्कुल तथा कलेज बन्द गर्ने निर्णय नगर्दा विद्यार्थीहरू यसबाट प्रभावित हुने जोखिम बढेको छ ।

हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको र यस्तो परिस्थितिमा सबैले संयम भएर घरमा बस्न र भीडभाडमा नजान राजदूत दाहालले आग्रह गरेका छन् । -सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer