२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

यी हुन् नेपालका टप टेन युट्युब च्यानल


-एकराज प्रधान
बिर्तामोड, असार १९ ।
नेपाली संगीतको युट्युब दुनियाँ छुट्टै छ । आजभोलि गीतसंगीत टेलिभिजनमा भन्दा बढी युट्युबबाट हेर्ने गरिन्छ । इन्टरनेटको पहुँच बृद्धि भएसँगै कुन गीत कति चल्यो वा चलेन भनेर युट्युबको भिउजलाई हेरेर मापन गर्न थालिएको छ ।
अहिले गायक तथा संगीतकारहरुले पनि आफ्नै युट्युब च्यानलबाट पनि गीत अपलोड गर्न सुरु गरिसकेका छन् । तर, यहाँ गीतसंगीतलाई प्राथमिकतामा राखेर भिडियो अपलोड गर्ने च्यानलहरुबारेमा चर्चा गर्नेछौँ ।

२०७७ असार १५ सम्ममा १ मिलियन अर्थात् १० लाखभन्दा बढी सब्स्क्राइबर रहेका नेपालकै टप टेन लिस्टमा कुन कुन च्यानल रहेका छन् त ?

१. म्युजिक नेपाल
म्युजिक नेपाल सन् २०१७ मा एक मिलियन सब्स्क्राइबर पु¥याउने नेपालकै पहिलो युट्युब च्यानल हो । एक मिलियन सब्सक्राइबर बनाएपछि म्युजिक नेपालले गोल्ड प्ले बटन प्राप्त गरेको थियो । हाल म्युजिक नेपालको ४९ लाख ६० हजार सब्स्क्राइबर रहेका छन् । म्युजिक नेपालबाट सबैभन्दा बढी हेरिएको भिडियोमा प्रमोद खरेलले स्वरमा रहेको म बाँचेकै तिमीसँग माया लाउन भन्ने गीत रहेको छ । जसलाई २ करोड ३४ लाख पटक हेरिएको छ । यस च्यानलबाट हालसम्म १२६५२ भिडियो अपलोड गरेको देखिन्छ ।

२. बुढासुब्बा डिजिटल
टप लिस्टको दोस्रो नम्बरमा रहेको बुढासुब्बा डिजिटल । जसको सब्सक्राइबर ४१ लाख ३० हजार रहेका छन् । यो च्यानलमा सर्वाधिक लोकप्रिय गीतसुर्के थैली खैलाई ३ करोड ९१ लाख पटक हेरिएको छ । करोड भिउजको पहिलो रेकर्ड पनि यही गीतले बनाएको थियो । गीतमा राजन राज शिवाकोटी, राजु विश्वकर्मा र अञ्जु पन्तको स्वर रहेको छ । बुढा सुब्बा डिजिटलबाट हालसम्म ८ हजार ९६६ भिडयो अपलोड गरिएको छ ।

३. हाइलाइट्स नेपाल
३ दशमलव ९ ९ मिलियन सब्सक्राइबरसहित हाइलाइट्स नेपाल तेस्रो नम्बरमा रहेको छ । यो च्यानलबाट ८ हजार ७ सय ८८ भिडियो अपलोड गरिएको छ । जसमध्ये १२ करोड ९२ लाख पटक कुटुमा कुटु सुपारी बोलको गीतलाई हेरिएको छ । राजनराज शिवाकोटी, मेलिना राई र राजन इसानले गाएको यो गीतको शब्दसंगीत पनि राजनराज शिवाकोटीले नै गरेका हुन् ।

४. ओएसआर डिजिटल
३५ लाख ६० हजारभन्दा बढी सब्सक्राइबरसहित चौथो नम्बरमा रहेको छ ओएसआर डिजिटल । यो च्यानलबाट अपलोड गरिएको आशिस गौतम र मेलिन राईको स्वरमा रहेको गीत पिरिम नलाउनेलाई दर्शक–स्रोताले सर्वाधिक माया दिएका छन् । यस गीतको भ्युज ६ करोड ३९ लाखभन्दा बढी रहेको छ । ओएसआर डिजिटलबाट हालसम्म २ हजार २७३ भिडियो अपलोड भइसकेको छ ।

५. कार्टुन क्रिउ
र्याङ्किङको पाँचौँ नम्बरमा रहेको छ कार्टुन क्रिउ । यस च्यानलमा हालसम्म मात्रै १३३ वटा भिडियो अपलोड गरिएका छन् । यसको अर्थ डान्सिङ गीत र नृत्यलाई अहिले खुब रुचाइन्छ । छोटो समयमै १८ लाख ४० हजार सब्स्क्राइबर पाउन सफल कार्टुन क्रिउ च्यानलमा सबैभन्दा हिट गीत रहेको छ दिलको भित्तैमा । जसलाई २ करोड २९ लाखपटक हेरिएको छ । अलमोडा राना उप्रेती, अन्जिला रेग्मी र नविन रावलको स्वर रहेको गीत मिलन विष्टले लेखेका हुन् ।

६. सङ्स नेपाल
छैटौँ नम्बरमा रहेको छ सङ्स नेपाल । १६ लाखभन्दा बढी सब्सक्राइबर रहेको यो च्यानलमा मेरो यो चोखो माया बोलको गीत सर्वाधिक हेरिएको छ । समशेर रसाइलीको स्वर रहेको गीतमा सूर्य कस्यबको शब्दसंगीत रहेको यस गीतलाई १ करोड ७० लाखपटक हेरिएको छ । यस च्यानलबाट हालसम्म ५०७७ वटा भिडियो अपलोड गरिसकिएको छ ।

७. इन्द्रेणी डटकम
इन्द्रेणी डटकम सातौँ नम्बरमा रहेको छ । जसको सबस्क्राइबर संख्या पनि १ दशमलव ६ मिलियन अर्थात १६ लाख नै रहेको छ । विशेष गरी लोकदोहोरी भिडियो अपलोड हुने यस च्यानलमा कमला घिमिरे र राजु परियारको दोहोरीलाई सर्वाधिक हेरिएको छ । जसलाई १ करोड ३४ लाखपटक हेरिएको छ । यो च्यानलमा १ हजार ९३७ वटा भिडियो अपलोड गरिएका छन् ।

८. भोइस अफ नेपाल
आठौँ नम्बरमा रहेको छ भोइस अफ नेपाल । यो सिङ्गिङ रियालिटी शो हो । यस च्यानलमा लाइभ गाइएका भिडियो अपलोड गरिएको छ । यसको सब्सक्राइबर १५ लाख १० हजार रहेका छन् । सर्वाधिक मनपराइएको भिडियोमा सनिस श्रेष्ठको लैलै लैलै भन्ने गीत रहेको छ । जसलाई ९७ लाख पटक हेरिएको छ । यस च्यानलमा मात्र ४९५ वटा भिडियो मात्र अपलोड गरिएको देखिन्छ ।

९. टंक बुढाथोकी
१ दशमलव ५ मिलियन सब्सक्राइबर सहित गायक तथा संगीतकार टंक बुढाथोकीको च्यानल टप लिस्टको नौ नम्बरमा रहेको छ । टंक बुढाथोकी र मेलिन राईको स्वरमा रहेको कसरी कसरी २ बोलको गीतलाई सबैभन्दा बढी हेरिएको छ । जसलाई ४ करोड २४ लाखपटक हेरिएको छ । यस च्यानलबाट ४८१ वटा भिडियो अपलोड गरिएको छ ।

१०. नेपाल आइडल
११ लाख तीस हजार सब्सक्राइबर रहेको नेपाल आइडल दशौँ नम्बरमा रहेको छ । सानी नरिसाउन बोलको गीतलाई यस च्यानलका भिडियो मध्ये सर्वाधिक मनपराइएको छ । नेपाल आइडल रहेका बुद्ध लामाले गाएको गीतलाई ८६ लाखपटक हेरिएको छ । यस च्यानलरबाट ३१३ वटा भिडियो अपलोड गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer