२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ग्लोबल एनआरएन सिंगिङ आइडलः छानिए उत्कृष्ट २५ प्रतिस्पर्धी


बिर्तामोड, साउन २४ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’ को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’ बाट २५ जना प्रतिस्पर्धी छनोट भएका हुन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समतिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट ‘गाला राउन्ड’ मा २५ जना पुगेका हुन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । पाँचजना महिला र २० जना पुरुष उत्कृष्ट २५ मा पुगेका हुन् ।

२५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बिबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अस्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जीता गोदार (अस्ट्रेलिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्यान्ड), सागर विश्व सेञ्च्युरी (कुवेत), दिपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित विष्ट (युएई), कृष्ण खवास (युएई), प्रतिक सिडब्ल्युए परियार (बहराइन), सतिश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) उत्कृष्ट २५ मा परेका छन् ।

ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनोट भएका थिए । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् ।

डिजिटल अडिसनमा छवटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

रेग्मीले गैरआवासीय नेपाली संघको काठमाडौँस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको बताएका छन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्रान्ड फिनालेमा प्रवेश पाउने पाँचजना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ ।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली प्रतिभाहरूको खोजीका लागि नै यो कार्यक्रम आयोजना गरिएको बताए ।

‘हाम्रो अपेक्षाअनुसार बृहत कार्यक्रम गर्न कोरोना प्रकोपका लागि सम्भव भएन, तर अहिले छनोट भएका प्रतिभाहरूको प्रस्तुतिले हामीलाई आगामी दिनमा अझै परिस्कृत ढंगले कार्यक्रम अघि बढाउनुपर्छ भन्ने उत्साह दिएको छ’, गुरुङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer