२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने


बिर्तामोड, माघ २ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।

संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवका संयोजक तथा संघ वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोडको रामचोक र चारपाने चोकको बीचमा रहेको खाली जग्गामा महोत्सव आयोजना हुनेछ ।

नेपालमा उत्पादित कृषिवस्तु, हस्तकलाका सामग्रीलगायतको प्रदर्शन र प्रबद्र्घन गर्ने, आन्तरिक पर्यटन प्रबद्र्घन गर्ने, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रबद्र्घन गर्नेजस्ता उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।

नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले विभिन्न निकायहरुको सहकार्यमा महोत्सव हुन लागेको हो ।

व्यापार महोत्सवको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको संघका महसचिव अर्जनकुमार मैनालीले जानकारी दिए ।

महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु समेत गरी करिब २५० स्टलहरु रहने संघका सदस्य जीवनकुमार खड्काले बताए ।
३ लाख दर्शकले अवलोकन गर्ने तथा ४५ करोडको कारोबार हुने संघले अनुमान गरेको छ । महोत्सव करिब १६ हजार १५० वर्ग मिटर क्षेत्रफल लाग्नेछ ।

संयोजक न्यौपानेका अनुसार महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्रमा विभाजन गरिएको हो ।

प्रदर्शनीकक्षमा अटोमोवाईल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारीपोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।

त्यस्तै, महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत सहभागिता रहनेछ । अक्टानोर्म तथा डोम विधिबाट विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृत्तियुक्त मुलप्रवेशद्वार तथा सेल्फी जोनको निर्माण गरिनेछ ।

राष्ट्रिय तथा प्रदेशिक कलाकारहरुको प्रस्तुति, फेसनसो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहनेछ ।

बाल उद्यानक्षेत्रमा विभिन्न शाहसिक तथा मनोरञ्जनात्मक खेलहरुका रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टका विभिन्न स्टलहरु रहनेछ ।

महोत्सवमा मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाइफाइ जोन, प्राथमिक उपचार, शौचालय खानेपानी तथा पार्किङको व्यवस्था गर्नुको साथै सुरक्षाका लागि सुरक्षाकर्मी तथा सिसी क्यामेराको सहायताले महोत्सव परिसरको निगरानी गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer