२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

यु–२० साफ महिला च्याम्पियनसिपः उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने


भद्रपुर, माघ २६ । बंगलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बेलुका पौने ६ बजे हुनेछ । आज घरेलु टोली बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने नेपालको दाउ छ ।

नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् । तर, घरेलु टोलीलाई पराजित गर्न सजिलो भने छैन । बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो ।

फाइनलमा नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई निरन्तरता दिन चाहन्छ ।

राउन्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer