२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नवज्योति फुटबल प्रतियोगितामा इलामको पहिलो जित


मेचीनगर, माघ २९ । नवज्योति फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इलामको जिर्मले फुटबल क्लब विजयी भएको छ ।
नवज्योति युवा क्लबको ३० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित खेलमा इलामले आयोजक क्लबको ‘बि’ टिमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १६ औँ मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३२ औँ मिनेटमा सुदिप राईले अर्को गोल गर्दै जिर्मलेको अग्रता दोब्बर बनाए । आयोजक नवज्योति युवा क्लबको तर्फबाट ५४ औँ मिनेटमा निशान प्रधानले सान्त्वना गोल फर्काए ।

खेलको म्यान अफ द म्याच विजेता टिमका सुशील राई घोषित बने । उनले नगदसहित ट्रफी प्राप्त गरे ।

नेपाल र भारतका टिम सम्मिलित प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

नवज्योति युवा क्लबका अध्यक्ष सुमन थापाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेत, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा आयोजक नवज्योति युवा क्लबको ‘ए’ र ‘बि’ गरी २ वटा टिम सहित भारतको दार्जिलिङबाट प्रकाश ११ फुटबल क्लब, इलामको जिर्मले फुटबल क्लब, न्यु स्टार क्लब बुद्धशान्ति, शनिश्चरे फुटबल क्लब, बिर्तामोड फुटबल क्लब, ब्रर्दस युनाइटेड चन्द्रगढी, न्यु स्टार क्लब खोपबाडी र रोलिङ क्लब धुलाबारीको सहभागिता रहेको क्लबका सचिव प्रमेस थापाले बताए ।

मेचीनगर ३ स्थित नवज्योति आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता फागुन ९ गते समापन हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार र उपविजेता टोलीले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer