
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोड-७ भुसाबाडीमा रहेको बेल्स मोडल स्कुलमा आजदेखि वार्षिक खेलकुद महोत्सव सुरु भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, झन्डोत्तलन गरेका थिए भने उनीहरुलाई प्रिन्सिपल ताराकुमार प्रसाईंले राष्ट्रिय झन्डा र विद्यालयको झन्डा हस्तान्तरण गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने खेलकुद कार्यक्रमअन्तर्गत अन्तर सदनात्मक फुटबल, भलिबल, सर्टजम्प, लङ्गजम्प, छेलो, ब्याडमिन्टन, टेबलटेनिस, दौड, रिले, कबड्डी प्रतियोगिता लगायतका विविध खेलकुदका कार्यक्रम हुने विद्यालयका को–अर्डिनेटर तथा खेलकुद संयोजक देवान ढुङ्गानाले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा विद्यालयका चार सदनका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइने र खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई माघ १६ गते पुरस्कारसमेत प्रदान गरिने उनले बताए ।
नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक हजार ७ जना विद्यार्थी अध्ययनरत रहेका तथा शिक्षक, शिक्षिका र कर्मचारीसहित जम्मा ६२ जना रहेको स्कुलका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार प्रसाईंले बताए ।
विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ताराकुमार प्रसाईंले स्वागत गर्दै विद्यार्थीहरुलाई पढाइसँगै खेलकुदमा समेत अब्बल बनाउने उद्देश्यले वार्षिक खेलकुद महोत्सव आयोजना गरिएको बताए ।
विद्यार्थी सोफिया र साथीहरुले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा नृत्य प्रशिक्षक अमित प्रसाईंको निर्देशनमा विद्यार्थीहरुले सांगीतिक कवाज (म्युजिकल ड्रिल) प्रस्तुत गरेका थिए ।
त्यस्तै, माघ १६ गते विद्यालयको चौथो वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिने उनले बताए । कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश बस्नेतले गरेका थिए ।
Comments are closed