२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सहिद नेत्र पार्क ब्युँताउन जुटे स्थानीय, आजबाट श्रमदान सुरु


बिर्तामोड, माघ ८ । करोडौँको लगानी खेर फालेर अलपत्र अवस्थामा छाडेको बिर्तामोड–७ स्थित सहिद नेत्रपार्कलाई ब्युँताउन स्थानीय जुटेका छन् ।

राज्यको करोडौँ ढुकुटी खर्चिएर बनाएका संरचना भत्किएर झाडीले ढाकिएपछि त्यसलाई जोगाउन स्थानीयले सोमबारदेखि श्रमदान थालेका हुन् ।

भुटानी शरणार्थीहरु तेस्रो राष्ट्र पुनर्स्थापित भएपछि गोलधाप शरणार्थी शिविर खाली भएको थियो । त्यसपछि सुन्दर निचाझोडा सामुदायिक वनको सो खाली जग्गामा सहिद नेत्रपार्क निर्माण गरिएको थियो ।

विभिन्न संरचना निर्माणपछि सञ्चालन नै नभई नेत्रपार्क बेवारिसे अवस्थामा पुगेको हो । नेत्रपार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । त्यस्तै, स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको थियो ।

पार्कभित्र डाइनोसर प्रतिमा समेत राखिएको थियो । पोखरी पातपतिङ्गरले पुरिन लागेको छ भने स्वीमिङ पुल प्रयोगविहीन बनेको छ । स्वीमिङ पुल र बालबालिका खेल्ने संरचनाहरु बिग्रिसकेका छन् भने डाइनोसर प्रयोग गर्नै नमिल्ने गरी भत्किसकेको छ ।

पार्क प्रवर्धनका लागि सोमबारदेखि बृहत श्रमदान अभियान थालिएको हो । पहिलो दिन सयभन्दा बढीको संख्यामा स्थानीयहरुले ढाकिएको झाडी पन्छाएका छन् ।

पहिलो चरणमा लगातार सात दिनसम्म यसरी नै श्रमदान गरिने बिर्तामोड-७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलले बताए । उनले पहिलो चरणमा स्थानीयहरुले श्रमदान गरिसकेपछि त्यसपछि विद्यार्थी, बैंक कर्मचारीलगायतलाई आह्वान गरिने जानकारी दिए ।

सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समिति र बिर्तामोड ७ नम्बर वडा कार्यालयको आयोजनामा पार्कलाई ब्युँताउने प्रयास गरिएको हो । त्यसमा बिर्तामोड नगरपालिकाले सहयोग गरिरहेको जनाइएको छ ।

करिब २७ बिघामा फैलिएको सो पार्कमा ३ करोडको हाराहारीमा बजेट खेर फालेको देखिन्छ । नरेश खरेलको अध्यक्षतामा पार्क निर्माण समिति गठन गरी करोडौँ बजेट ल्याइएको थियो ।

वडा अध्यक्ष अविरल कृष्ण खरेलको अध्यक्षतामा आज भएको कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटी, वडा अध्यक्षहरु किशोर पौडेल, मदन बुढाथोकी, सूर्यप्रसाद कन्दङवालगायतले उपस्थिति जनाउँदै सहिद नेत्र पार्कको प्रवर्धनमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रमको सञ्चालन सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री प्याकुरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer