२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

पल्सर स्पोर्ट्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक


बिर्तामोड, भदौ २४ । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड २०८० को चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले वर्षको उत्कृष्ट महिला, पुरुष, युवा र प्रशिक्षक गरी चार विधामा समान पाँचजनाको मनोनयन सोमबार सार्वजनिक गरिएको छ ।

क्रिकेटबाट सबैभन्दा बढी ५, फुटबल र करातेबाट समान ३ जना मनोनयनमा परेका छन् । गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् ।

महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), मेनुको राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल ( क्रिकेट), दिपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराते) र सुवास तामाङ (गल्फ) परेका छन्।

युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) परेका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) परेका छन् । मनोनयनमा परेका पाँचजनामध्येबाट अवार्डकै दिन विजेता घोषणा गरिनेछ ।
मञ्चले पिपल्स च्वाइस अवार्डको मनोनयनमा भने यसअघि सार्वजनिक गरेको थियो ।

युवाको विधाको मनोनयनमा परेकी फुटबलकी प्रीतिसहित पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), श्रीराम श्रेष्ठ (रग्बी) छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ ।

इ–सेवाबाट भोटिङ र मञ्चको तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेज पल्सर नेपाल बाट भोटिङ जारी रहेको मञ्चले जनाएको छ ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते प्रज्ञा भवनमा हुने बताइएको छ ।

यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरबाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दैछ । एनएसजेएफ एआइपिएस एसियाको सदस्य हो ।

Adv footer