२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा उपमेयर कप वडास्तरीय भलिबल हुने


बिर्तामोड, जेठ १ । झापाको बिर्तामोडमा ‘प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । प्रतियोगिता जेठ ३ र ४ गते हुनेछ ।

पत्रकार सम्मेलन गरेर बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिले यसबारे जानकारी दिएको हो । समितिका अध्यक्ष विश्वदिप राजवंशीका अनुसार १० वटा वडाबाट टिमहरु सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राजवंशीले जानकारी दिए । त्यस्तै, उपविजेता टिमले ५१ हजार १ सय रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई स्थानीय तहसम्म पुर्‍याउन, युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासित र सक्रिय बनाउन तथा बिर्तामोड नगरभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए ।

बिर्तामोडलाई खेलमैत्री नगरको रूपमा विकास र प्रवद्र्धन गर्न प्रतियोगिताले मद्दत पुग्ने आयोजकको भनाइ छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूका लागि उचित पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद चम्लागाईं, नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ, अफिसियल मिलन लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Adv footer