
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडस्थित भद्रपुर सडक खण्डमा बिर्तामोड नगरपालिकाको आयोजनामा बृक्षारोपण गरिएको छ ।

आज सडकको दुवैतर्फ फूलका बिरुवा रोपिएको हो । बिर्तामोडलाई हरित नगर बनाउने उद्देश्यकासाथ आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा चार सय फूलका बिरुवा तारजालीसहित रोपिएको छ ।

बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यसअघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा बृक्षारोपण गरिएको थियो । सडकको बीच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका बिरुवाहरु भने हुर्किसकेका छन् ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंले आआफ्नो टोल, क्षेत्रमा बिरुवा रोप्न सबैलाई आग्रह गरिन् । उनले सहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि पनि बृक्षारोपण आवश्यकता रहेको बताइन् । रोपेका बिरुवा हुर्काउने जिम्मेवारी नागरिकको पनि रहेकोले रेखदेख गर्न स्थानीयलाई उनले आग्रह गरिन् ।

बृक्षारोपण कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, इन्चार्ज अम्बिर लिङदेन, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, जनप्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।






