२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडबाट तीनजना बेसहारा नागरिकको उद्दार


बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा सडकमा आश्रित तीनजना बेसहारा नागरिकको उद्दार गरिएको छ ।

मानव सेवा आश्रमको सहयोगमा एकजना बृद्धासहित तीनजनाको उद्दार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको टोलीले आज दिउँसो उनीहरुको उद्दार गरेको हो ।

बिर्तामोड ४ बाट ९० वर्षिय छविलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिंह र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो ।

बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोही नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।

सिंह सैनिकमोडको एउटा निर्माणधीन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था ठिक नभएका सिंहले कहिले काँकरभिट्टाको गरामनी कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् ।

गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टाबारीनजिकै शुभबिहानी टोलबाट उद्दार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् ।

उद्दार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए । उनले यस प्रकारका बेसहारा नागरिक बिर्तामोड क्षेत्रमा कोही भेटिए उद्दार गरिने बताए ।

मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार मेचीनगर आश्रममा मात्रै २८ जनाले आश्रय लिएका छन् । उनीहरु सबैजना झापाबाटै उद्दार गरिएका हुन् ।

Adv footer