
बिर्तामोड, भदौ २४ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो १४औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ ।


झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले आइतबारदेखि इकाइगत साधारणसभा सुरु गरेको हो ।

इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ रुपैयाँ बराबरको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १३६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

त्यस्तै, संस्थाको नीति तथा कार्यक्रमहरुबारे कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए ।

संस्थाले प्रथम इकाइगत साधारणसभा इलाममा सम्पन्न गरेको थियो । सोमबार मोरङको पथरीशनिश्चरेमा दोस्रो इकाइगत साधारणसभा गरिएको संस्थाको आइटी विभागका विजय पाण्डेले जानकारी दिए ।

दोस्रो इकाइगत साधारणसभा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यमा भएको हो ।
साधारणसभामा मोरङअन्तर्गतका ९ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको जनाइएको छ ।
साधारणसभामा पनि अध्यक्ष भट्टराइले सञ्चालक समितिको प्रतिवेदन तथा कार्यकारी प्रमुख बस्नेत नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।





