
बिर्तामोड, असोज २४ । झापा बिर्तामोड–७ मा रहेका टोल विकास संस्थाहरुबीचको फुटबल प्रतियोगिताको उपाधि सिमसार टोल विकास संस्थाले जितेको छ ।

साविक गोलधाप भुटानी शरणार्थी शिविर रहेको स्थानमा भएको फाइनल खेलमा सिमसार टोल विकास संस्थाले सीताराम टोल विकास संस्थालाई हराउँदै उपाधि जितेको हो ।

छिमेकी युवा संस्थाले आयोजना गरेको दोस्रो वडा टोलस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा सिमसारले सीताराम टोललाई १–० को गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।

खेलमा सौगात घिमिरेले गोल गरेका थिए । प्रतियोगितामा दिपन लिम्बू उत्कृष्ट खेलाडी घोषित भएका थिए ।


विजेता तथा उपविजेतालाई प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्णप्रसाद खरेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), सदस्य विराज केदेम लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।

बिर्तामोड–७ मा २४ वटा टोल विकास संस्थाहरु रहेकोमा १४ वटा टोलले प्रतियोगितामा सहभागिता जनाएका थिए । कार्यक्रम सुजितसिंह कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





