
भद्रपुर, कात्तिक २६ । झापाको भद्रपुरका युवा क्रिकेटर विपिनकुमार महतो पहिलोपटक राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । उनी कोशी प्रदेशबाट टिममा पर्ने एक्ला खेलाडी हुन् ।

भद्रपुर-८ का तीव्र गतिका बलर महतो १९ वर्षमुनिको एशिया कपको लागि नेपालको १८ सदस्यीय टोलीमा समावेश भएका हुन् ।

विराटनगरमा भएको नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका विपिनले तीव्र गतिका बलरहरुमध्ये सबैभन्दा धेरै विकेट लिएका थिए ।

प्रतियोगितामा १६ विकेट लिएका महतोले पहिलो खेलमा मधेश प्रदेशविरुद्ध ७ विकेट लिएर प्लेयर अफ द म्याच सम्मेत भएका थिए । उनको विकेट प्रतियोगिताभरिकै बलिङतर्फको सर्वोकृष्ट व्यक्तिगत प्रदर्शन रहेको थियो ।

महतोलाई एक कार्यक्रमका बीच भद्रपुर क्रिकेट क्लबले शुभकामनासहित विदाई गरेको छ । क्लबका प्रशिक्षक शिवु बुढोथोकी, सचिव शेखर खड्कालगायत क्लबका सदस्यहरुले उनलाई चन्द्रगढी विमानस्थलमा विदाई गरेका हुन् ।


नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार हेमन्त धामीको कप्तानीमा यु–१९ एसिया कप खेल्ने १८ सदस्यीय टोली घोषणा गर्दा झापाका महतोलाई पनि टिमको सदस्यमा छनोट गरेको हो ।
टोलीमा हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रञ्जीत कुमार छन् ।
टिमको प्रशिक्षक शक्ति गौचन छन् सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।
एसियन क्रिकेट काउन्सिलको आयोजनामा युएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
कुल आठ टिम रहने प्रतियोगितामा नेपाल समूह बि मा छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छ । समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् ।
नेपालले पहिलो खेल श्रीलंकासँग मंसिर १४ गते खेल्नेछ । दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ ।





