२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

यु-१३ फुटबलको उपाधि विशालपुर पृथ्वीनगरलाई


भद्रपुर, कात्तिक २६ । झापा भद्रपुरको कलवलगुढीमा सम्पन्न यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि भद्रपुरको विशालपुर फुटबल एकाडेमी पृथ्वीनगरले जितेको छ ।

आज भएको फाइनल खेलमा विशालपुरले छिमेकी टिम भद्रपुर ब्लेजर्सलाई टाइब्रेकरमा हराउँदै उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै विशालपुरले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो । उपविजेतामा सीमित भद्रपुर ब्लेजर्सले नगद १५ हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।

विशालपुरले भद्रपुर ब्लेजर्सलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हरायो । फाइनलमा विशालपुरका गोलकिपर सोनाम राउत नायक बने । उनले तीनवटा गोल रोके ।

यसअघि खेलको १९ औँ मिनेटमा विशालपुरका रौनक तामाङले गोल गर्दै अग्रता दिलाए पनि २४ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका शिवांश अधिकारीले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

फाइनल खेलको प्लेयर अफ द म्याच भद्रपुर ब्लेजर्सका अधिकारी भए । उनलाई नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान हिमाल खरेल र आयोजक अध्यक्ष मित्र बस्नेतले नगद ५०० र ट्रफी प्रदान गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर विशालपुरका सोनाम राउत, उत्कृष्ट डिफेन्डर विशालपुरका कप्तान अनुज भट्टराई, उत्कृष्ट मिडफिल्डर आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टरका अभय राजवंशी, सर्वाधिक गोलकर्ता विशालपुरका रचित मगर, उत्कृष्ट प्रशिक्षक विशालपुरका शक्ति राई भए । उनीहरुले नगद दुई हजार र ट्रफी पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपविजेता भद्रपुर ब्लेजर्सका मध्यपंक्तिका खेलाडी योङसोहाङ लिम्बू भए । उनले नगद तीन हजार रुपैयाँ र ट्रफी पाए ।

भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा भएको प्रतियोगितामा झापाका आठवटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, भद्रपुरका निवर्तमान नगरप्रमुख तथा झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, आयोजक अध्यक्ष मित्र बस्नेत, उपाध्यक्ष भीम राजवंशी, सदस्य बिकी जैसवाल, मुख्य प्रयोजक तथा झापा जिल्ला फुटबल संघका कोषाध्यक्ष भूपेन लिम्बू, महासचिव शेरबहादुर बस्नेत, पूर्वराष्ट्रिय खेलाडी युगलकिशोर राई, भद्रपुर वडा नम्बर २ का वडा अध्यक्ष राम कडेल, ५ का वडा अध्यक्ष बन्धु कार्की, काँकरभिट्टा फुटबल ट्रनिङ सेन्टरका अध्यक्ष मीन बस्नेत, व्यवसायी निरज पराजुली लगायतले पुरस्कार वितरण गरे ।

सेन्टरका सदस्य तुलसी कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव विवेक चम्लागाईंले गरेका थिए ।

Adv footer