२०८३ जेठ २० बुधबार
Jhapa Today
Adv top

कनकाईको भृकुटी माविका विद्यार्थीलाई ओलीको अगुवाईमा शैक्षिक सहयोग


बिर्तामोड, जेठ २० । झापाका कनकाईका सामाजिक अभियन्ता दिपक ओलीको अगुवाईमा स्थानीय एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शैक्षिक सहयोग उपलब्ध गराइएको छ ।

ओलीले कनकाई–७ दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालयका सातजना अतिविपन्न विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराएका हुन् । आज एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको छ ।

ओलीका अनुसार भृकुटी माविका सातजना विद्यार्थीलाई विद्यालय पोसाक (सर्ट, पेन्ट, जुत्ता), स्टेस्नरी, ब्याग तथा वार्षिक शुल्क वितरण गरिएको हो । विद्यार्थीहरु कक्षा ६ का तीनजना, कक्षा ७ देखि १० सम्मका एकएकजना रहेका छन् ।

ओलीको अभियानमा बिर्तामोडको बिज इन्टरनेसनल एजुकेसन सर्भिस, ह्युमन नेचर फाउन्डेसन नेपाल हङकङ र लायन्स क्लब अफ कनकाई दुर्गापुरले सहयोग गरेको ओलीले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा कनकाई-७ का वडा अध्यक्ष भीष्मभूषण सिटौला, विद्यालयका अध्यक्ष नविनकुमार बस्नेत, प्रधानाध्यापक चण्डिका उपाध्याय, सहायक प्रधानाध्यापक कुमार खरेल, बिज एजुकेसनका सञ्चालक अशोक ओली, समाजसेवी शेरबहादुर थापाले शुभकामना व्यक्त गरेका थिए ।

ओलीले यसअघि जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई ४५ दिनसम्म निःशुल्क खाना तथा खाजाको व्यवस्था गरेका थिए । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी विद्यार्थीलाई उनले खानाको व्यवस्था गरेका थिए ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव रहेका ओली लायन्स क्लब अफ कनकाई दुर्गापुरका सचिव र पर्यटन मञ्च झापाका कार्यसमिति सदस्य हुन् । ओलीले यसअघि पनि कनकाईका विद्यार्थीलाई ब्याग तथा न्यानो कपडा प्रदान गरिसकेका छन् ।

Adv footer