
बिर्तामोड, जेठ २० । पछिल्लो समय लागुऔषध कारोबार र ओसारपसारको मुख्य नाकामध्ये एक झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिका क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा झापा दमक-१० बस्ने ३२ वर्षीय सुरज राय र मोरङ विराटनगर ३ बस्ने ४२ वर्षीय बाबुराम दर्जी रहेका छन् ।

उनीहरुको साथबाट साथबाट १४ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । हिजो साँझ ६ः३० बजे झापा गाउँपालिका-४ टाघनडुब्बामा प्रहरी चौकी टाघनडुब्बाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भारतको दिघलबैंकबाट नेपालतर्फ पैदल आउँदै गरेका पैदलयात्री रायले ६ ग्राम १ मिलिग्राम र दर्जीले ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर ल्याएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए ।







