बिर्तामोड, पुस २३ । हल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्थामा भएको चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई सर्लाहीबाट पक्राउ गरेको छ ।
घटना भएको करिब ११ महिनापछि सर्लाही घर भएका सुजित आलेलाई शनिवार पक्राउ गरी झापा ल्याइएको प्रहरी स्रोतले जनाएको छ । २०७९ साल माघ २० गते उक्त सहकारीको मुख्य गेट र सेफ फुटाई ११ लाख ७ हजार ७ सय ६३ रुपैयाँ चोरी भएको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए । घटनापछि आरोपित आले भारतमा लुकेर बसेका थिए । घर आएको मौकामा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
सहकारीको सिसी क्यामेरा फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले आलेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ । सिसी क्यामेरा फुटेजमा देखिएका चोरीमा संलग्न अर्का व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।