
बिर्तामोड, पुस २४ । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा झापाका एकजनासहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड–४ घर भई ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल, मोरङ सुन्दरहरैँचा–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टङ्कप्रसाद सुवेदी र रहेका छन् ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टङ्कप्रसादले एकजना पीडितबाट तीन लाख र विक्रमले एकजनालाई मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी आठ लाख ९० हजार ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले टङ्कप्रसादलाई काठमाडौँ बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।