
मेचीनगर, पुस २५ । भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको चर्चित राममन्दिरको मुख्य आचार्य झापाका दुर्गाप्रसाद गौतम रहेका छन् ।
मेचीनगरका उनी जनवरी २२ मा हुने मन्दिर उद्घाटनको पूर्वतयारीमा जुटिरहेका छन् । मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि–विधानको तयारीमा राममन्दिरका मुख्य आचार्य गौतमको व्यस्तता बढेको हो ।
३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् । मन्दिरको मूल पुजारी भने सत्येन्द्र दास हुन् । उनले दैनिक पूजाआजा र आरती गर्ने गर्छन् ।
तर, मन्दिरमा हुने कुनै पनि ठुला अनुष्ठान, पूजापाठ, महत्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आएका छन् ।
मेचीनगर–१ का खड्गप्रसाद गौतमका जेठा छोरा दुर्गाप्रसाद सन् २००६ देखि अयोध्यामा छन् । उनले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन् ।
उनले हाल त्यहीँ विद्यावारिधि पनि गरिरहेका छन् । अयोध्यास्थित श्रीराम वेद विद्यालयमा विज्ञापन निस्केपछि उनी त्यसमा प्रतिस्पर्धा गरेर अयोध्याको यात्रा थालेका थिए । वेद विद्यालयमा आचार्य रहेका उनलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले मन्दिरको जिम्मेवारीमा पनि जोडेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० अगस्ट ५ मा मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास गरेका थिए । त्यसको विधिविधान र पूजापाठमा गौतमको सक्रिय सहभागिता थियो ।
भूमि पूजापछि पनि मन्दिर निर्माणका क्रममा धेरै पूजापाठहरू हुँदै आएका छन् । मन्दिरमा ढोका राख्दा होस् वा नवशिलाको प्रयोगपूर्वको प्रायः सबैजसो पूजा गौतमले गराउँदै आएका छन् ।
‘२०२० को १८ अप्रिलदेखि मन्दिरमा भइरहेका हरेक यज्ञ, हवन र अनुष्ठानहरूको म साक्षी छु,’ गौतमले भने, ‘मेरा लागि धेरै गर्वको विषय हो, नेपालबाट आएर यहाँ प्रभु रामको सेवा गर्ने मौका पाएको छु ।’
मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा र त्यससँग जोडिएका पूजा, हवन र यज्ञको तयारीमा आफू प्रत्यक्ष रूपले जोडिन पाउँदा खुसी मिलेको उनले बताए ।
मन्दिरमा संस्कृत र वेदका ज्ञातालाई राख्नुपर्ने आवश्यकता महसुस गरेर त्यही विद्यालयमा अध्यापनसमेत गराइरहेका झापाका गौतमलाई मन्दिरको मुख्य आचार्यको जिम्मेवारीमा ल्याएको हो ।
प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, मन्त्रीहरूदेखि विपक्षी दलका नेता अखिलेश यादव अयोध्या आएका बेला उनलाई पूजापाठ गराउन गौतम सक्रिय देखिन्छन् ।
अहिले राममन्दिरमा भइरहेको रामचरित्र मानस र चारवटै वेदको मन्त्रोचारण तथा होमादी पनि उनकै नेतृत्वमा भइरहेको छ ।
-इकान्तिपुरबाट सम्पादन गरी साभार गरिएको