बिर्तामोड, माघ १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण कार्यलाई निरन्तरता दिने भएको छ ।
संघको तेस्रो बैठकको निर्णयअनुसार जिललाभरिका औषधि व्यवसायीलाई सदस्यता प्रमाणपत्र प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।
यसअघिको प्रतिबद्धताअनुसार प्रत्येक व्यवसायीको पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरिनेछ । त्यस्तै, पुराना व्यवसायीलाई संघमा आवद्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले झापाका सबै पालिकामा पालिकास्तरीय इकाइ समिति गठन गर्ने निर्णय पनि गरेको अध्यक्ष खड्काले बताए ।
त्यस्तै, बैठकले कञ्चनजंघा फर्मा प्रालिका सञ्चालक नेत्रप्रसाद चौलागाईंलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ । चौलागाईंलाई बैठकमै अध्यक्ष खड्काले शपथ खुवाएर प्रमाणपत्र प्रदान गरेका थिए ।